फोटो हेर्न राखेको श्रीमानको पासपोर्टले बोर्डबाट रकम दिलायो

समाचार

सिर्जना बस्नेत/रामेछाप ।
गायत्रीको माइतीघर अनि विवाह गरेर भित्रिएको घरको आँगन एउटै हो । कुनै समय आफ्नै माइतीघर भन्दा पनि प्यारो र भरिभराउ लाग्ने त्यो घर अचेल गायत्रीलाई रित्तो लाग्छ ।

कमाएर खुशी दिन्छु भनेर वैदेशिक रोजगारीमा गएका आफ्ना श्रीमानको दुर्घटनामा परेर ज्यान गएपछि रामेछापकी गायत्री शाहीलाई भरिभराउ लाग्ने आँगन रित्तो लाग्छ ।


गायत्री शाही

खेतबारीमा काम गर्दागर्दै गायत्री शाही र सञ्जिव शाहीको आँखा जुध्यो । गायत्री १० कक्षामा पढ्दै थिइन् भने सञ्जिवले छ कक्षा पढ्दापढ्दै स्कुल छाडेका थिए ।
दुवैले एकअर्कालाई मन पराउन थाले । यो कुरा सञ्जिवको परिवारले थाहा पायो ।

सँगै जिउने मर्ने कसम खाइसकेका थिए दुवैले । तर सञ्जिवको परिवारले गायत्रीलाई रुचाएनन् । छोराले कतै गायत्रीसँगै पो बिहे गरिहाल्छ कि भनेर पल्लो गाउँको युवतीसँग सञ्जिवको बिहे गरिदिने कुरा चल्न थाल्यो ।

तर सञ्जिवले आफ्नो मनले खाएको मान्छेलाई छाडेर अर्कैसँग बिहे गर्न चाहेनन् । जसरी भए पनि गायत्रीसँगै बिहे गर्ने भन्ने अठोट गरे । गायत्रीलाई पनि सञ्जिवको साथबाहेक अरु केही चाहिएको थिएन । घरका मान्छेलाई छलेर दुवैजना एकदिन भागे र मन्दिरमा गएर बिहे गरे।

२०६९ सालमा दुवैले आफ्नो प्रेमलाई विवाहको रुप दिए । त्यतिबेला सञ्जिव १८ वर्ष र गायत्री १९ वर्षकी थिइन् । ‘उहाँको परिवारले उमेर मिलेन भनेर मलाई नरुचाएको हुनसक्छ’ गायत्री भन्नुहुन्छ, ‘एक वर्ष जेठी भए पनि माया त चोखो थियो नि, माया गर्न नि उमेरले फरक पार्छ र ?’

माया गर्न उमेरले फरक त पारेन, तर समयले भने एकअर्कालाई साथमै रहन दिएन ।

बाध्यताले विदेश

बिहे गरेको एक वर्षमै छोरी जन्मिइन्, सञ्जिना । विस्तारै जिम्मेवारीले थिच्न थाल्यो । न धेरै पढेको न हातमा केही सीप । कमाइको बाटो पहिल्याउन सञ्जिवले विदेश जाने सोच बनाउनुभयो ।

सुत्केरी श्रीमती र काखे छोरीलाई छाडेर सञ्जिव २०७१ सालमा मलेसियाको जहाज चढ्नु भयो ।

मलेसिया गएको केही महिनामा नै शरीरमा तातो पानी पोखिएर सञ्जिव थला पर्नुभयो । हप्ता दिनपछि बिरामीले थलिएका सञ्जिवलाई त्यहाँको अस्पताल र कम्पनीले नेपाल पठायो । यहाँ अस्पतालले सञ्जिवको पोलेको घाउ क्यान्सरमा परिणत भैसकेको बतायो ।

त्यसपछि क्यान्सरको उपचार सुरु भयो । तर जति उपचार गरे पनि ठिक हुन सकेन । थला परेका सञ्जिबको २०७३ मंसिर १३ गते निधन भयो । श्रीमानले सानी छोरी र आफूलाई यसरी चटक्कै माया मारेर जालान् भनेर गायत्रीले कल्पनासमेत गर्नु भएको थिएन ।


सञ्जिव र गायत्रीकी छाेरी सञ्जिना

‘जीवनभर साथ दिने बाचा गरेको थियो, सायद मेरो भाग्यमा उनको माया थिएन होला, भाग्यमा नभएपछि कसम खाँदैमा नहुँदो रहेछ’, गायत्रीले गहभरी आँसु पार्दै भन्नुभयो ।

आर्थिक सहयोग

क्यान्सरको उपचार गर्न २४ लाख रुपैयाँ खर्च भयो । उपचारको लागि भएको जग्गा पनि बेचिएको थियो । श्रीमान् गुमाउनुको पीडासँगै आर्थिक अवस्था कमजोर बनिसकेकाले कसरी गर्जो टार्ने भन्ने समस्याले पिरोल्न थाल्यो गायत्रीलाई ।

गायत्री र उहाँका परिवारलाई नेपालबाट आर्थिक सहायता पाइन्छ भन्ने केही जानकारी थिएन ।

‘नेपाल सरकारले सहयोग गर्छ भन्ने विषयमा केही पनि थाहा थिएन हामीहरुलाई’, उहाँले भन्नुभयो, ‘पछि एउटा संस्थाका मान्छेहरुले क्षतिपूर्ति पाइन्छ भनेर हामीलाई जानकारी गराउनुभयो ।’

नेपालबाट श्रम स्वीकृति लिएर गएका सञ्जिवको मृत्यु श्रम अवधि नसकिदै भएको थियो ।

मन्थलीमा रहेको सुरक्षित आप्रवासन परियोजना ९सामी०का कर्मचारीले गायत्रीलाई भेटेर आर्थिक सहायता पाइने बारेमा जानकारी गराए । क्षतिपूर्ति लिनको लागि सञ्जिवका कुनै प्रमाणहरु चाहिने भए । गायत्रीसँग कुनै प्रमाणहरु थिएनन् । सञ्जिवको शवसँगै बिदेशमा उपचार गराएकादेखि अन्य सबै प्रमाण तथा कागजातहरु जलाइएको थियो ।

तर सन्जिवको पासपोर्ट भने फोटो हेर्न हुन्छ भनेर गायत्रीले लुकाएर राख्नु भएको थियो । आखिरमा त्यही पासपोर्ट आर्थिक सहायता पाउने प्रमाण बन्यो ।

बिमाबापत ५ लाख रुपैयाँ पाउनुभयो । वैदेशिक रोजगार बोर्डमा पनि आर्थिक सहायताको लागि सामी सुचनाकेन्द्रले पहल गरिदियो । तर सञ्जिवको मृत्यु नेपालमै भएको कारण बोर्डले कुनै आर्थिक सहायता गर्न नसक्ने बताएपछि ऋणमा डुबेका परिवार निराश बने ।

कामदारको संरक्षण अनि उनका परिवारलाई सहायता गर्ने बोर्डले सञ्जिवको परिवारलाई तत्काल कुनै सहयोग नगर्दा परिवार निराश हुनु स्वाभाविक नै थियो ।
वैदेशिक रोजगारीमा गएका प्रत्येक कामदारले बोर्डमा १५ सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

कोषमा जम्मा भएको रकमबाटै वैदेशिक रोजगार पीडितलाई क्षतिपूर्ति प्रदान गरिन्छ । तर नेपालमै ज्यान गएकाले सञ्जिवको परिवारले आर्थिक सहायत पाएन ।

वैदेशिक रोजगार नियमावली पाँचौं संशोधनले करार अवधिभित्र स्वदेशमै मृत्यु भए पनि आर्थिक सहायता पाउने व्यवस्था गरेपछि गायत्रीले बोर्डबाट पाउने आर्थिक सहायता पनि पाउनुभयो ।

बोर्डले मंसिर २ गते गायत्रीको परिवारलाई ३ लाख रुपैँया क्षतिपूर्ति दियो । श्रीमान नभए पनि अनुहार हेर्न राखेको फोटोले गायत्री र छोरीलाई आँट दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *